नेपाली समाजमा महिनावारीलाई सामाजिक वर्जितका रुपमा स्थापना गरिएको छ। यसै सोचको उन्मूलन गर्नका निम्ति लेखकले यस कथा लेखेका छन्।
शहरको होहल्ला र प्रदूषणबाट टाढा प्रकृतिको काखमा हाम्रो सुन्दर घर छ। चार तल्ले यो घरमा सूर्यको पहिलो किरणले चहकाउन नसक्ने कोठाहरु कुनै छैनन्। अझ उषाको त्यो प्रकाश नपर्ने चोटा नि विरलै पाइन्छन्। चराहरुको सुमधुर आवाजले परिवारको सम्पूर्ण सदस्यका मनलाई नै आनन्दित बनाउछन्। यो मिश्रणले गर्दा कुनै त्यस्तो दिन रहेन जब घरका सदस्यको दिनको सुरुवात नकारात्मक ऊर्जाले भएको थियो होला। यदि कसैलाई दुःखले सताएको भए पनि मेरी दिदीले आफ्ना मिठा शब्दहरुले सबैको चिन्ता गायब गर्दिन्थिन्। आफू उठ्नासाथ अरुलाई पनि उठ्न लगाएर घरमा नै छुट्टै उमंग उनले ल्याउथिन्। सदा मलाई आफ्नो प्यारो कान्छो भाइ भन्दै माया गर्ने उनी त मेरा लागि आफ्नो प्राणसम्म त्याग गर्न तत्पर हुन्छिन्। सबैका दिदीभाइको नाता यस्तै त होला, हगि? कि म अति नै भाग्यमानी रहेँ र? जीवनमा हामी सात समुद्र टाढा हुने दिन आएपनि हामी एक अर्कालाई कहिल्यै बिर्सिन सक्ने छैनौँ।
दुई वर्ष त जेठि हुन् मेरी दिदी। चकचक पनि मिलेर गथ्र्यौँ र आमाको गालीबाट बच्नका लागि अनेक जुक्ति र उपाय सोच्थौँ। चाडपर्वको बेला दिदीले सधैँ बढी दक्षिणा पाउने गर्थिन्। त्यसबेला आशीर्वादभन्दा पैसा नै ठूलो हुन्छ भन्ने सोच थियो। आफूले कम दक्षिणा पाउँदा म निराश हुन्थे। मेरो छैठौँ दशैँको बेला थियो। बुबाले किनिदिएको नयाँ कपडा लगाएर दिदी र म टिका लगाउनका लागि तयार थियौँ। आमाले गलैँचा ओच्छ्याउने बितिक्कै हामी गएर बसिहाल्यौँ। हाम्रो उत्साह देखेर हजुरबुबाले झट्ट हामीलाई आशिर्वाद दिँदै टिका लगाइदिनुभयो। मेरो निधार रातो टिकाले सजियो। कानमा लगाइदिएको जमरा त झनै सुहाएको। यस्तो चट्ट परेको छोरोलाई हेर्न छोडेर आमा कता जानुभयो भनि आफ्ना नयन घुमाएर हेरेँ। पर तिर आमाले खाममा पैसा हालेको दृश्य देखँे। अनि मैले, “पैसा आयो, पैसा आयो।” भन्दै हर्षले चिच्याएँ। हजुरबुबा नि मसँगै हाँस्नुभयो। आमाले दुई खाम हजुरबुबालाई दिनुभयो। अनि हजुरबुबाले पालैपालो हाम्रा हातमा खाम दिनुभयो। उत्सुकताले आफ्नो खाम खोलिहालेँ। हरियो नोट देखेँ। कस्तो खुसी लाग्यो। अनि झट्टपट्ट दिदीको खाम हेरेँ। खैरो नोट देखेँ। यति भेदभाव भन्दै म जुरुक्क उठँे। दौडिएँ अनि घरको सबैभन्दा अँध्यारो कुनामा गएर ह्वाँह्वाँ रुन थाले। त्यस कुनामा न त बिहानीको उषाको प्रकाश पर्छ न त रजनीको जुनको किरण नै पर्छ। बुबाले एउटा बत्ति जडान गर्नुभएको थियो तर त्यो पनि मैले निभाएर अँधकारमा आफूलाई राखेँ। दिदी भने मलाई नदेखि धेरै समय बस्नै नसक्ने। “स्याने, स्याने” भनेर उनले चौथो तल्लाबाट लाएको गुहार सुनेर पनि मैले वास्ता गरेनँ। माथिका सबै तल्लामा खोजेर मलाई कतै नभेटे पछि, “स्याने, तँ यहीँ छस्।” भन्दै आईन्। अनि मेरै खाम मलाई देखाइन। खममा हरियो नोटको भित्र खैरो नोट लुकेको रहेछ। उनले त्यो खाम मलाई दिइन अनि, “आइज स्याने, पिगं खेल्न जाम।” भनि फकाउँदै लगिन्। के साँच्चै त्यो खाममा दुईटा नोट नै थिए होलान् र?
समय बित्दै गयो। हामी ठूला हुँदै गयौँ। समयको बेगले हामीमा अनेकौ परिवर्तनहरु ल्याउन थाल्यो। मेरो बोलि परिवर्तन हुन थाल्यो। घरमा पाल्नुभएका बुबाका इष्टमित्रहरुले पनि स्याने त ठूलो भएछ भन्दै ठट्टा गर्नुहुन्थ्यो। म पुरुष हो। त्यसैले मेरा शरीरमा देखा परेका ती परिवर्तनलाई लिएर सबै खुसी हुनुहुन्थ्यो। तर उता मेरी दिदीको शरीरमा आएका शारीरिक परिवर्तनले उनलाई चिन्तित बनाउँदै गएको थियो। पहिले महिनौ महिना सँगै दौडखेल गर्ने हामी तब त उनी महिनाको तीन चार दिन, “भाइ, म त खेल्न सक्दिनँ। अति नै पेट दुख्यो।” भन्दै त्यही अँध्यारो कुनामा गएर बस्ने गर्थिन्। अनि म उनको नजिक जान खोज्दा पनि आमाले गाली गर्दै मलाई भुँइतलामा प्रवेश गर्नै दिनुहुन्थिएन। तर मेरो मनले मान्दैनथ्यो अनि म दिदीलाई भेट्न जान्थे। उनी डराउँदै, “स्याने, यहाँबाट जा तँ। आमाले देख्नुभयो भने पिट्नुहुन्छ।” भन्दै मलाई आफूबाट टाढा पठाउने प्रयास गर्थिन्। तर उनले आफ्नो वाक्य पुरा गर्नै नपाउँदा उनका थकित ति आखाँ जसले बुबाका मुहार हेर्न पाएका थिएनन्, ति आँखाबाट मोतिसरह अनमोल आसुका थोपा बग्न थाल्दथे। मैले पनि आफ्ना आँसु थाम्न सक्दैनथे र त्यहाँबाट हतारमा दौडेर आफ्नो कोठामा जान्थेँ। ढोका बन्द गरेर आफूलाई प्रश्न गर्थेँ, “दुई वर्ष जेठी मेरी दिदीलाई मबाट यसरी टाढा किन पठाइँदै छ?”
मेरी दिदीलाई भान्छा कोठामा प्रवेश गर्नबाट पनि निषेध गरिएको थियो। उनलाई नुहाउन पनि दिइदैनथ्यो। सधैँ खाटमा सुत्ने बानी बसेको उनलाई त्यस अँध्यारो कुनाको भुइँमा लगाइएको ओच्छयानमा सुत्न बाध्य गराइयो। म उनको भाइ भएर नि केही गर्न सकिन। यो सबै देख्न पर्दा मलाई कति नमज्जा लागेको थियो।
एक दिन, अब त अति नै भो भन्दै म रिसको झोकमा भान्छा कोठामा गएँ। आमाले अर्को दिनको लागि काउली गोबी काट्दै हुनुहुन्थ्यो। मेरो कदमले भुँइ बजेको सुनेर उहाँले सोध्नुभयो, “के भयो छोरा, फेरि भोक लाग्यो तँलाई? अघि भर्खर त खाना खाएको होस् त।”। मतर्फ हेर्दा नि हेर्नु भएन। त्यति नम्र बोलि सुन्दा मेरो रिस हराएको पाएँ। उहाँ गोबी काटेर टमाटर काट्न तर्फ लाग्नुभयो।
एकछिन् फेरि दिदीको दृश्य सम्झिएँ अनि उहाँलाई, “आमा, दिदीलाई के भएको हो? किन दिदीलाई मबाट टाढा गरेको? उनलाई त्यो अँध्यारो कुनामा किन राखेको?” भनेर सोधँे। अनि आमाले उल्टै मलाई हप्काउँदै, “बढी जान्ने भएछस् है।”, भन्दै गाली गर्नुभयो।
म केही बोल्न सकेन। अनि कोठामा गएँ। ढोका ढ्याप्प लगाएर एकान्तमा बसेँ। केही समयपछि आमा मेरो कोठामा आउनुभयो। मलाई बोलाउनुभयो। म बोलिनँ। म उहाँसँग रिसाएको थिएँ। अनि मेरो नजिक आउँदै मेरो टाउकोमा हात राख्दै भन्नुभयो, “स्याने, तँलाई दिदीको यति माया लाग्दो रहेछ है। उसलाई केहि भएको छैन। बाहिर सरेकी छे। सुतेको बेलामा सपनामा एकजना मान्छे आउनुहुन्छ। उहाँले बाहिर सरेको कुरा भन्नुहुन्छ। त्यसपछि तीनचार दिनको लागि उनी त्यही कुनामा बस्नुपर्छ।” भन्नुभयो।
आमाबाट नै कुरा सुन्न पाउँदा मेरो चिन्ता अलिक कम भयो। अनि जिज्ञासा लागेर सोधेँ, “आमा, दुई वर्ष पछि मलाइ पनि त्यसरी नै राख्नुहुन्छ, हगि?” आमा मुस्कुराउनुभयो तर केहि बोल्नुभएन। मलाई सुत्न लगाउँदै आफू दिदी भएको भुइँतलामा जानुभयो।
म एकछिन सुतेको झैँ गरेँ तर त्यसपछि तल गएर उहाँहरुको कुरा सुन्न बसेँ। जाँदा एकदमै होसियार भएर गएँ। आफू हिडेँको आवाज सम्म नसुनिने गरि त्यहाँ पुगेँ। आमाले झुल टांग्दै हुनुहुन्थ्यो। दिदी लाचार देखिन्थिन्। विचरी उनलाई दिउँसो भरि मच्छरले कति सताएका थिए होला। झुल टांगेर आमा झुलभित्र पस्नुभयो। दिदीको शिर आफ्नो काखमा राख्नुभयो। उनलाई पानी खुवाउनुभयो। दिदी केहि बोल्ने अवस्थामै थिइनन्। त्यसैले आमाले नै कुरा सुरु गर्नुभयो।
“छोरी, तिमीलाई यो अहिले त नराम्रो लाग्ला। आफ्नै शरीरबाट रगत बगेको देख्दा डर पनि लाग्छ होला। डराउनु पर्दैन। आज त उत्सवको दिन हो। यसले तिमी महिला भएको बुझाउछ। तिमी बिरामी भएकी होइनौ। यो त केवल तिम्रो शरीरको प्रकृया हो।”, आमाले भन्नुभयो। दिदीको मुहार अलि उज्यालो भयो। उनि भित्तामा आढेस लागेर बसिन्।
“आमा, मलाई यस्तो अँध्यारो ठाउँमा किन राख्नुभएको त? यहाँको अँधकार अनि कपडामा लतपतिएको रातो रंग, कस्तो भयानक लाग्छ। अझ यो तलामा त कोही नि बस्नुहुदैँन। तैपनि मलाई यहाँ?”, उनीले असन्तुष्टि जनाइन्।
“के गर्नु छोरी। मैले भनेको के नै लाग्छ र यहाँ? तिमी जस्तै मैले पनि त भोग्नुपर्छ। म नि बाहिर सरेको बेलामा माथिल्लो तला जान पाउँदैन। ठूलिआमा आएर खाना त्यही भएर त पकाउनुहुन्छ। अझ स्यानेलाई रुगा लागेको छ भनेर यहाँ आउनुपर्छ।”, उहाँका आँखाबाट आँसु झर्न थाले, “सधैँ त्यसले आमा खोइ भन्छ। यसरी महिनै पिछे त्यसलाई झुट बोल्न नि मन लाग्दैन। तर के गर्नु, बुबाआमाले महिनावारीलाई स्वीकार गर्नुहुँदैन। तिम्रो बुबाले त सम्झाउन खोजेकै हो। तर महिनावारीमा भएको बेला उहाँहरुले मैले पकाएको खाना नि खानुहुँदैन। उहाँहरुलाई खुसी राखिदिन भएपनि यो गर्नुपछ।”, आमाले दिदीलाई भन्नुभयो।
आमाका त्यति कुरा सुनेर मलाई डर लाग्यो अनि म दौडेर त्यहाँबाट भागेँ। बाटोमा एउटा जग रहेछ। त्यसमा ठोकिएँ। त्यो खस्नाले आवाज आयो। तलतिरबाट पनि केहि आवाज आएको त सुनेँ तर वास्ता नगरि म कोठामा गएँ अनि खाटमा सुतेँ। एकछिन त निद्रा नि लागेन। मलाई रगतबाट डर लाग्छ। त्यसमाथि दिदीले भनेको त्यो रातो रगं नै दिमागमा घुमिरह्यो। निद्रा लागेन। त्यसैले आफ्नो नोट कापिमा यी सबै घटना लेखेर राखेँ। हल्का भयो। अनि सुतेँ।
सुरुका दुई तिन महिना त हरेक दिन म दिदीका ति कष्ट सम्झी रुने गर्थे। तर केही बद्लियन। हरेक २८ दिनमा उनले त्यही कुरा भोग्नु पथ्र्यो। आमाले हरेक रात उनलाई सहारा दिँदै उनीसँगै सुत्नुहुन्थयो। सहज महसुस गराउन खोजे पनि उनलाई गाह्रो नै हुन्थ्यो। मैले केहि गर्न सक्छु कि जस्तो लाग्थ्यो। फेरि हजुरबुबाले बाबाको कुरा त सुन्नुभएनछ, मेरो के सुन्नुहुन्थ्यो होला र भन्ने सोचेर मैले उहाँसँग कहिल्यै यस बारेमा कुरा गर्नै सकेनँ। दिदीले वर्षौँसम्म त्यहीँ पीडा सहनु परेको छ।
म १६ वर्षको ठिटो भएँ। दिदी १८ वर्ष पुगिन्। उनी तब त त्यसरी उदास भएको थाहा पाउँदैनथेँ। उनलाई नि बानी बस्यो होला। अथवा म घरमा धेरै नबस्ने भएर नि हुन सक्छ। दुबै जना दिउँसो भरि विद्यालय हुन्थ्यौँ। राति पर्नासाथ म साथिभाईसँग बाइकमा घुम्न जान्थँे। दिदीसँग खासै घुलमिल हुन नि समय पाउने गरेको थिएन।
ठूलो हुँदा कतिपय कुरालाई बुझ्न थालिदो रहेछ। मैले कतिपय कुरालाई नियालेर हेर्न सिकेको रहेछु। एक पल्ट दशैँमा म चट्ट परेर टिका लगाउन तयार भएको थिएँ। एकै छिन अघि दिदी कपडा लगाउन भनी अर्को कोठा गएकी थिइन्। “भाइ, एकछिन रुक है।” भनेर भित्र पसेकी थिइन्। केहिबेर म आफ्नो फोटो खिच्नुपर्यो भन्दै बाहिर गएको थिएँ। यसो फोटो खिचेँ। करिब १० मिनेटपछि म त्यहाँ पुगे अनि दिदीलाई आवाज दिएँ। उनी बोलेनिन्। त्यसपछि ढोका ढकढकाएँ। चुक्कुन लगाएको रहेनछ। ढोका खुल्यो। भित्र दिदी थिइनन्। पक्कै मलाई जिस्काउनका लागि उनी मभन्दा अघि नै तल गएको हुनुपर्छ भन्ने सोचेर म टिका लगाउने कोठामा गएँ। उनलाई त्यहाँ पनि देखेन। आमा त्यही हुनुहुन्थ्यो। आमालाई दिदी कता जानुभएको भन्दै सोधेँ। उहाँले मामा आउनु भएको अनि दिदीलाई मामाघर लगेको कुरा सुनाउनु भयो। मामा आएर मलाई नलिई गएको कुरा थाहा पाउँदा सारै नराम्रो लागेको थियो। आखिर दिदीले पनि त मलाई बोलाउन सक्थिन्। त्यस दशैँको दिन खास्सै राम्रो गएन। म पिंग खेल्न नि गएन। घरमै बसेँ।
यहीँ सालको तिजमा पनि उस्तै घटना घट्यो। दिदी सारी लाएर आउँछु अनि मेरा राम्राराम्रा फोटो खिच्देस् है भाइ भन्दै कोठामा पसेकी, म निकै बेर बाहिर प्रतिक्षा गर्दा पनि उनि आइनन्। के भएछ भन्दै उनलाई कल गरेँ। उठेर सिढीँ चढ्ने जाँगर थिएन। उनले फोन उठाइनन्। फेरि मलाई साथीले नि बोलाएका थिए। छिट्टै निस्कनु पर्ने थियो। आवाज दिएर बोलाउँ भन्दा आमाहरुले ठूलै स्वरमा गाना बजाउनु भएको थियो। दिदीले नसुन्लिन् भनेर म उनको कोठा अगाडि गएँ। ढोका त खुल्लै रहेछ। मोबाइल खाटमा थियो। दिदीलाई नाँच्नको हतारले आमाहरु भएकै कोठामा गइछन् कि भन्ने लाग्यो। त्यता गएँ। अहँ थिइनन्। कल गर्नलाई मोबाइल कोठामै छाडेकी थिइन्। आमालाई बोलाउँ कि भन्दा त्यति रमाइरहेको बेला के बोलाउनु जस्तो लाग्यो। कतै गएकी होलिन् भनेर म तल झरेँ।
घर बाहिर निस्कन नपाउँदा आवाज आयो। “स्याने, कस्तो तिर्खा लागेको छ। एक बोतल पानी ल्याइदे न।”, सुनेँ। आवाज मधुरो थियो। आवाजमा दुःख मिसिएको थियो। अनि म पछाडि फर्के। दिदी रहेछिन्। भित्तामा आढेस लागेर रुँदै रहेछिन्। म नजिक गएँ अनि के भएको सोधेँ।
“बाहिर सरेँ, स्याने।”, उनले उत्तर दिइन्।
मलाई अचम्म लाग्यो। उत्सवको त्यो दिनमा एकातिर आमाहरु नाँचगान गर्दै हुनुहुन्थ्यो भने अर्कातिर दिदी कुनामा गएर आँसु पुछ्दै थिइन्। पानी ल्याइदिएँ अनि उनलाई बाहिर घुम्न जाने प्रस्ताव राखेँ। उनले अस्वीकार गरिन्। त्यहीँ उनको छेउमा बसेँ। अनि साथीको कल आयो। म आउँदैन भनेर कल राखिदिएँ। दिदीले मलाई मेरो दिन खुसीले बिताउन आग्रह गरिन्।
“स्याने, घुम्न जा। साथीहरु कुरी रहेका छन्।”, उनले भनिन्।
मैले नजाने कुरा गर्दा नि उनले मलाई त्यहाँबाट पठाइन्। घुम्न त गएँ तर मन त्यहीँ कुनामा नै छुट्यो। त्यसदिन बल्ल थाहा पाएको। कुनै चाँडपर्वका बेला दिदीलाई महिनावारी हुँदा उनीलाई त्यही कुनामा पठाइँदो रहेछ। त्यस दशैँमा पनि उनलाई मामाले लग्नुभएको थिएन। लगेको भए बाइकको आवाज त सुन्नु पर्ने थियो। पक्कै पनि हजुरबुबाको निर्देशन अनुसार उनलाई त्यहीँ अँध्यारो कुनामा लगेर राखिएको हुनुपर्छ। यो कुरा बुझ्ने हुँदा अहिले मेरो मनै रुने गर्छ।
म १८ वर्षको भएँ । बुबाले नयाँ बाइक किनिदिनुभयो। भाईटिकाको दिन त्यस बाइकको उद्घाटन गर्ने कुरा थियो। दिदीले कतिखेर टिका लगाइदिनु होला र म बाइक कुदाउन जाउँला भन्ने सोच्दै थिएँ। त्यस दिन बिहान दिदीलाई आफू साथिसँग साँझ पार्टी गर्न जाने योजना बयान गर्दै थिएँ।
अरु कुनै चाडपर्व छुटाए पनि हामीले रक्षा बन्धन र भाइटिका सधैँ सँगै मनाएका थियौँ। भाइटिकाको त्यस दिन पनि म टिका लगाउनका लागि तयार भएँ। कोठामा गएर बसेँ। दिदीका लागि सुन्दर घडी किनिदिएको थिएँ। विगतका केहि महिनामा उनले समय हेर्न नपाएर धेरै ठाउँमा ढिलो पुगेको गुनासो गरेकी थिइन्। अनि त्यो उपहार त उनीसँगै सधैँ रहिरहने पनि थियो। दिदीले मेरा लागि फलफूल, माला अनि टिका ल्याएर आइन्। उनको मुहार खासै उज्यालो थिएन। तिहारमा पनि दिदी खुसी नभएको कुरा मालाई चित्त बुझेन। अनि उनलाई लगेर बाहिर गएँ।
“दिदी, के भएको छ? खुसी देखिदैँ नौ त। आज त झन् भाइटिका हो।”, मैले सोधेँ। दिदीले खासै केहि नभएको बताइन्। तर केहि न केहि गडबड भएको त मलाई थाहा थियो। त्यसैले फेरि उनलाई सोधेँ।
संकोच मान्दै, “स्याने, म बाहिर सरेकी छु। तर तँलाई टिका लगाइदिन अति नै मन छ। आमालाई भनेँ भने उहाँले मलाई त्यहीँ कुनामा जा भन्नुहुन्छ।”, उनी रुन थालिन्। उनलाई सम्हाल्दैँ उनलाई आफ्नो अंगालो दिएँ। उनको कपाल सुम्सुम्याउँदै, “जाबो त्यति कुरा दिदी। टिका लगाइदेऊ। मैले झन् तिम्रा लागि घडी किनिदिएको छु।”, मैले भनेँ। सुरुमा त उनी मानिनन्। अलिक बेरमा भने उनले मानिन्। अनि हामी फेरि कोठामा फर्कियौँ।
म मुस्कुराएँ। उनको मुहारमा हाँसो छरियो। उनले पहिले जस्तै ऊर्जाले मेरो वरिपरि तेलको गोलो बनाइदिइन्। आमा पनि त्यहीँ हुनुहुन्थ्यो। “हेर स्याने, अब तँलाई कसैले केही गर्न सक्दैन। तेरी दिदीले तँमाथि आउने सबै समस्या टाढा गर्दिन्छे भन्नुभयो।” म झनै खुसी भएँ। अझ नयाँ बाइक चलाउन पाउने छुट्टै उमंग त ममा थियो नै। उनले मेरो निधार सप्तरंगी टिकाले सजाइन् अनि मैले उनको। उपहार साटासाट गर्यौँ। अनि हतारहतार बाइको उद्घाटन गर्न गयौँ। बाइकको आवाज सुन्दै मन आनन्दित भयो। दिदीले इसारा पाइ सकेकी थिइन् कि मैले त्यस रात बाइक अति नै रफ्तारमा चलाउने सोचेको थिएँ। उनले मलाई, “भाइ, चाडपर्वको बेला छ। बाइक बिस्तारै चलाएस्। अझ, आज महिनावारी हुँदा तँलाई टिका लगाइदिएको छु। कस्तो डर लागिरहेको छ।” भनिन्। मैले हस् भन्दै साथीलाई भेट्न गएँ।
साथीभाइहरु त १८ पुगेको मनोरञ्जन गर्ने सोचेका पो रहेछन्। ५ जना भेला भएका थियौँ। भेट्ना साथ उनीहरुले होटलमा जाने कुरा गरे। चाडपर्वको बेला थियो। के नाइ भन्नु लाग्यो। म नि गएँ। ठूलो हुनु पनि राम्रो त हुँदो रहेनछ। सबै कुरा प्रयोग गर्न मन लाग्ने। ती ४ जना त्यस अघि कहिल्यै पिउथिएनन्। १८ पुग्नासाथ हरेक हप्ता पिउन सुरु गरे। म पनि सँगै जान्थेँ तर कहिल्यै मादक पदार्थ सेवन गरेको थिएन। त्यस साँझ, उनीहरुले त रक्सी पिउन सुरु गरे। मैले नाइ भन्दा भन्दै मलाई पनि पिउन लगाए। पहिलो पटक भएकाले अलिकतिले पनि मेरो होस हरायो। मलाई गाह्रो हुन थाल्यो। उनीहरुको घर शहरमा थियो। जीपमा आएका थिए। ढिलो गए नि हुने। मेरो घर शहरबाट टाढा थियो। म छिटो निस्कनु पर्ने थियो। म निस्किएँ।
दिमागले राम्ररी काम गरिरहेको थिएन। कसो गरि त मैले आफ्नो बाइक सुरु गरेँ। घरको लागि लागेँ। अलि पर पुग्दा टाउको भारि भयो। अगाडि आएका गाडिहरु पनि छरलंग देख्न सकेको थिएन। कतिपय गाडीले त गाली गर्दै थिए। तर उनीहरुको कुरा बुझ्न नि सकेको थिएन। सडकमा जति बेर बस्यो त्यति अप्ठ्यारो हुन्छ भन्ने ठानेँ। बाइकको गति बढाएँ। चिसो हावाले ठोक्कर दिन थाल्यो। मोबाइल बज्दै थियो। मैले उठाएन। गति अझ बढाएँ। कहिले त्यति गतिमा कुदाएको थिएन। मोड आयो। एक्कासी ट्रकको हर्न सुनेँ। ब्रेक लगाउन खोजेँ। ट्रक नि गतिमा रहेछ। बाइक ट्रकमा गएर बजारियो। म सडकमा खसेँ। मेरा आँखा बन्द हुनु अघि मलाई दिदीले भनेको याद आयो। तर ढिला भइसकेको थियो। मैले पृथ्वी छोडेँ।
म बितेको एक महिना भयो। म घरमा छैन। मेरै गल्तिले गर्दा मेरो मृत्यु भयो। तर दिदी तिमीले आफैँलाई मेरो मृत्युको सजाय दिदैँ छौ। तिमी आज त्यही कुनामा महिनौँ बिताउँदै छौ। हिजोआज त तिमीलाई त्यहाँ गएर बस्न पनि कसैले बाध्य गरेको छैन तर पनि तिमी त्यहीँ बसी आफ्ना आँसु झारी रहेकी छ्यौँ। तिमीले त्यहीँ अँध्यारो कुना चुन्यौ। अझ त्यहाँ जडान गरिएको त्यो एउटा बत्ती नि तिमीले फुटाल्यौ। पहिले त घरमा उमंग ल्याउने गरेकी, आज तिमी उदास हुँदा तिमीलाई फकाउन कोही पनि छैनन् दिदी। म चाहेर पनि केही गर्न सक्दिनँ। त्यो आँसुको कारण म नै हुँ, दिदी। सानामा पिंग खेल्न जाऊँ भनि फकाउने गरेकी थियौे, आज तिम्रो त्यस्तो विषम अवस्थामा पनि साथ दिन रहेन म दिदी।
तिमीले आज पनि त्यही पोषाक लगाएर बसिछ्यौ जुनदिन तिमीले मेरो शिरमा सप्तरगीं भाइटिका लगाइथ्यौ। सदा मेरो सुरक्षा गर्ने तिमी त्यस दिन पनि भाइलाई आइपर्ने विपत्तिबाट बचाउने प्रणका साथ भाइटिका मनायौ। तिमी महिनावारी अवस्थामा रहँदा पनि मेरो भलोका लागि मेरो वरिपरि तेलले सुरक्षा रेखा बनायौ। तिमीले त सफा मनले मेरो घाँटीमा माला लगाएकी थियौ। मेरो निधन मेरो लाफरवाहीले भएको हो दिदी तर दोष तिमीमा पुग्यो। तिम्रा विपक्षमा सबै उभिएका छन् तर तिम्रा साथ उभिनका लागि म रहेन। कस्तो कु्रर छ है यो समाज। जसले गल्ती गरेको छ उसलाई आफ्ना प्रार्थनामा राखेका छन्। जो निर्दोश छ उसलाई मानसिक तनाव र तृषणा भोग्ने गराएका छन्। एक स्त्रीले आफू महिला भएकोमा गर्व गर्ने दिन हुन् महिनावारी तर त्यसलाई सामाजिक वर्जितका रुपमा स्थापना गरिदिएका छन्। हामी काँचो माटा थियौँ, जे सिकायो उही सिक्ने। यसलाई पापको रुपमा नसिकाइएको भए तिमीले कुनै संकोच नमानेर मलाई टिका लगाउथ्यौ। मेरो निधनले तिमी दुःखी त हुन्थ्यौ, रुन्थ्यौ, कराउँथ्यौ तर आफूलाई त्यसको सजाय दिने थिएनौ दिदी। तर आज तिमी मेरो गल्तीलाई पनि आफ्नो गल्ती भनि आफुले गर्दै न गरेको अपराधको सजाय आफैँलाई दिँदै छौ दिदी।
Comments [0]
You need to login to comment or reply.