कथा : कर्म

Nepali short story

 

 

कथा :  कर्म

सागर एका बिहानै गाई गोठमा सोत्तर सोर्दै थियो । घरको पाली अडाउन  गाडिएको खाबोमा झुण्डिरहेको रेडियोले समाचार प्रसारण गर्दै थियो, “हिजो राती माओवादी र सरकारका सेनाको भिडन्त हुदा सरकार पक्षका पचास जना सैनिक जवानको घटना स्थलमा नै मृत्यु भएको छ । अर्काे तिर मावोवादीका लडाकु चालिस जनाको मृत्यु भएको अनुमान छ ।” सागर भकारो सोर्न छाडेर पीढिको डिलमा थचक्क बस्यो । उसका हातहरु रगतले लत्पत्तिएको जस्तो लाग्यो । आफू पनि कुनै दिन नेपाली सेनामा भर्ती हुन खोजेको तर भाग्य बलियो भएर रहेछ भर्ती हुन नसकेको भन्ने ठान्दै भगवानलाई मनमनै धन्यवाद दियो, किसान भएकोमा गौरव गर्दै भकारोतिरै लाग्यो ।

सागर र सरु आठ कक्षा देखि एउटै स्कुलमा पढ्थे । दुबैले एक अर्कालाई मन पराउथे । उनीहरुको प्रेम जीवन साथीको रुपमा झाँग्गियो । सरु एक टुहुरी केटी थिई । सानै छदा आमा गुमाएकी ऊ बाबुको माया र स्नेहमा हुर्केी । छोरीको हरेक खुशीमा सहयोग गर्ने उसका बाबु बिबाह जस्तो कुरामा भने रमाउन सकेनन् । त्यसैले बाबुको इच्छा विपरित विवाह गरेर गएकी  थिई । सागर कथित तल्लो जातको थियो । त्यसैले सागरलाई सरुका बाबुले स्वीकार्न मानेनन् । उसलाइ जन्म घरको ढोका समेत बन्द भयो । आमा नभएकी ऊ बाबुलाई पनि जिउदै गुमाई । तैपनि सागरकै माया , विशवास, र भरोसामा जीवन रथ चल्दै थियो । सागर उसका हरेक इच्छा पुरा गरिदिन्थ्यो । जीविकोपार्जन गर्न धौ धौ हुदा समेत ऋण गरेर महङ्गो सुनको पाउजुले सरुको बुच्चो पैतालालाई फुरुङ्ग उफ्रने गरी भरिभराऊ पारिदिएको थियो ।

पुष महिनाको एक साँझ झमक्कै परे पनि जुनेली रात भएकाले चकमन्न अध्याँरो भने थिएन । दुई मकुण्डोधारी व्यक्ति आएर सोध पुछको लागि भन्दै सागरलाई  घरबाट केही पर पुराए, सरु पछि लागी । अपरिचित ती दुई युवकहरुले सरुलाई अघि बड्न दिएनन् । “सोध पुछको लागि मात्र हो, चिन्ता लिनु पर्दैन” भन्दै दुई जनाले हात समाएर माझमा हिडाए । सरुले आँखाले देख्नेसम्म हेरिरही ।  हल्ला नगर्न कडा आदेश भएको हुदा सरु केही नबोली बाटो करिरही । हतियारधारी ती व्यत्तिहरुका अगाडी उसको केही सिप लागेन । सरुको चेहेरा निष्पट्ट अन्धकारले ढाक्न थाल्यो । रात बित्यो, भोलिपल्ट भयो । दिन गन्दा गन्दै हप्ता बित्यो, महिना अनि बर्ष बित्यो । सागर फर्किएन, न त फर्कियो सरुको मुहारको उज्यालो नै । सरुका आँखामा आँसु नसुक्दै एक दिन बुधे हरायो । बुधेसँग अरु दस जना केटा केटीहरु हराएको खबर सनसनी फैलियो । सागर हराएको पीडा त छदै छ, एक मात्र सन्तान बुधेको मुख हेरेर सपना बुन्दै गरेकी सरुको जविनमा अझै बज्र पर्यो । पीडाका लहर सहदै आफूलाई समालेकी उसलाई एक मात्र सन्तान बुधे पनि घर छाडेर जादा आफूमाथि विशाल आकाश खसेको आभास भयो । उसको सपनाको धरातल भासिदै गयो । आशाका निरन्तर वेगहरु सेलाउदै गए ।  

आफू बाँच्नुको कुनै अर्थ नभएको अबस्थामा नब्बे बर्ष कटेकी सासूआमालाई सम्हाल्नु थियो । आमाका धर्सा परेका गालामा चिम्सा आँखाबाट झरेका पीडाका भेलले सरुको जीवनलाई झनै अर्थहीन बनाउदै गयो । बुढी आमाको जीवन उजाड बन्दै गए पनि छोरो फर्किने सपना झलमल्ल रङ्गीन थियो । शरीर अशक्त भएपनि आशाका किरणहरु सबल नै थिए । पिढीमा बसेर मुलबाटो हेरि रहन्थिन् । तै मुलबाटो जहाँ असी वर्ष अगाडि उनलाई डोलीमा चडाइ ल्याइएको थियो । जहाँ उनको सारा जीवनका पीडा, खुसी, रहर, पसिना या सपनाका पाइलाहरु टेकिएका थिए ।   

परदेशी दिव्य अपार हर्ष बोकी त्यही बाटो फर्किन्थे । चाडपर्वमा लाहुरे ठिटाहरु भरिभराउ झोलाहरुमा केही दिनको रमझम बोकेर आउथे । तर सागरका पाइला मुलबाटोबाट सदाका लागि अस्ताए । बुढी आमाको जीवन पनि अस्ताउदै थियो । सागर भन्दै सपनामा बोल्दा पनि मनको धोको पूरा हुन्थ्यो । एक दिन सागरको नाम जप्दै संसार छाडिन् । अब त सरु मात्र एक प्राणी थिई, त्यस घरमा । बुधे आएर आमा भन्ला भन्ने पर्खाइमा आँखाहरु कहिले थाकेनन । 

सरुको आशा मर्न पाएन । एक दिन बुधे वैशाखीको साहारामा लरखराउदै धरमराउदै आागनमा टुपलक्क आई “आमा! सन्चै हुनुहुन्छ” भनेर बोलायो । सरुको हर्षको सीमा नाघ्यो । सपना हो की विपना, ऊ भावविभोर भई । बुधेले युद्धमा एउटा खुट्टे गुमाएकाले घर फर्किन पाएको हो भन्ने बुझेकी सरुलाई बुधे घरमा हुदा मात्र पनि मन शितल हुन्थ्यो । मातृ वात्सल्य छचल्केको हृदयमा शान्ति मिल्थ्यो । बुधेको एउटा खुट्टो युद्धमा गुमेपछि घर फर्कन पाएको र सामान्य उपचार पछि गाँउकै पण्डितको छोरो रमेशले घर फर्कन अनुमति दिएको रहेछ । रमेशले कार्यक्रम भन्दै छलेर जनमुक्ति सेनामा भर्ना गर्न लगेको रहेछ । ऊ आफू नाइके बनेको थियो । कलम समाइ रहेका हातहरुले जबरजस्ती बन्दुक समाए, कतिले ज्यान गुमाए, कतिले शरीरका अङ्ग ।  

रमेश गाँउकै  हरि पण्डितको छोरो  हो । गाँउ भरिको पूजा आचा चलाउने, दश गाउले मान्दै आएका धर्म, संस्कार र संस्कृति वचाँउने सम्माननीय व्यत्ति हुन् हरि ।  छोराले बाबुको आज्ञा अबज्ञा गरेकोमा चिन्तित भएर हिड्थे । चन्दा असुल्ने, खेतको कुनियो दाइ हालेर धान परल जबरजस्ती लिने, किसान, शिक्षक, कर्मचारी जो सँग अवसर मिल्छ डर, त्रास देखाएर चन्दा असुल्ने आदि कुकार्य गरेर रमेशले शान्त गाउँमा कोलहाल फैलाएको थियो ।

बुधे हिड्डुल गर्न सक्थेन, घाउ पाक्दै गयो, क्यानसरको रुप लियो । सरुले उपचार  गर्न सक्ने अवस्था थिएन । हात मुख जोर्नका लागि अहो रात खटिदा पनि आमा छोरकोलागि मीठो मसिनो खान चाडबाड कुर्नु पर्थ्यो । सरु लाचार थिई । छोराको मुख देख्ने धोको त पूरा गरी तर रोग निको पार्न सकिन । सागरले ऋण गरी किनिदिएको त्यही एक पाउजु बेच्ने तरखर गर्दागर्दै एक दिन बुधे आमालाई एक्लै पार्देै संसारबाट बिदा भयो । दुई घुम्ती सहदै आएकी सरु तेस्रो घुम्ती पछि भने मन समाल्न नसकेर विक्षिप्त बनी ।

कसैसगँ पनि खुलेर बोल्थिन । कहिले कतै त कहिले कतै हिडिरहन्थी । यौवन फक्रेकी सरुको लाउँलाउँ र खाउँखाउँको उमेरमाथि गिद्धे नजर लगाउने पनि धेरै थिए । अति होशियार थिई । आफूलाई जोगाएर हिड्थी । कतै सागर फर्केर आउछकी भन्ने मनको कुनामा रहेको आशाको त्यान्द्रो  बिस्तारै मर्न थाल्यो । उसका लागि सागरको मायाको चिनो पाउजु पनि अभिशाप बन्यो । आफूलाई सम्हाल्न सकिन । समयको वेगमा चङ्गाझै होमिदा जीवनबाट वैरागी भई जीवनभन्दा मृत्यु प्यारो लाग्ने दिनहरु आउन थाले । नभन्दै सरु जीवन र मृत्युको युद्धबाट पराजित भई । कोहीले दैवले ठगेको थियो ठिकै गरी भने । दुई चार जनाले बिचरी कलिलै उमेरमा विचलित भई भन्दै सहानुभूति देखाए । 

समयले फन्को मार्दै गयो । देशमा द्धन्द पछि शान्तिको घमाइलो विहानी आयो । रमेश जस्ता कार्यकर्ताहरु साढेँको जुधाइमा बाच्छा मिचिएजस्तै भए । हुनेखानेको स्वार्थ पुरा हुनासाथ बेवास्ता गरिए । 

सुन्दर बस्ती, प्रकृतिले सजिएको मनोरम दृश्य भएको उक्त गाँउ स्वर्गसरी थियो । केही समय यता भने रमेश जस्तै बिद्रोहीका कारण युवा र बालबच्चा हराइरहे । कति परिवारको विचल्ली भयो, छिन्न भिन्न भयो । गाँउलेहरु विस्थापित हुदै जान थाले । विस्फोेट र आतङ्कको भयले धेरै गाउँलेहरु बसाइ सरिसकेका थिए । गाँउको सौन्दर्यमा ह्रास आउदै जान थाल्यो । कलकल अविरल बगिरहने मर्स्यङ्दीको निश्चल पानी धमिलो बन्दै गयोे । त्यो कर्णप्रिय  सुसावट पनि वैरागी लाग्न थाल्यो मानौ कोही उजाड बस्तीमा नमीठो गीत गाइरहेको छ । बस्ती उठेपछि भत्केका घरहरुले दिउसै तर्साउने हुन की भन्ने भान हुन थाल्यो । पन्छाउने कोही नहुदा वनमाराले ढाकेर बस्ती समेत नदेखिने भैसकेको थियो । चरा चुरुङ्गी र जगंली जनावरको रजाइ बढ्दै गयो । दिउसै नदी तटमा झै हुचिल कराउथ्यो । वस्तीलाई मान्छेहरुले बिर्सिसकेका थिए ।

रमेशका बाबु छोराबाट विरक्त भएर वर्षौ अघि घरखेत बेची बनारस पसिसकेका थिए । रमेश वनबास पछि घर फर्कदा गाउँ रित्तो थियो । उसको नाउँमा केही सम्पत्ती बाँकी रहेन । उमेरमा निष्फिक्री रजाइ गर्दै हिडेका उसलाई ढल्किदो उमेरले बल्ल जीन्दगी सधैँ सिधा बाटो नहुने बोध गरायो । गाउँमा बटुवा बस्ने पाटीमा बसेर जीविकोपार्जन गर्न थाल्यो । मान्छेको आवतजावत बिरलै हुने गर्थ्यो । कोही बास बस्ने बटुवाले “यो ठाउँमा सधै बसिरहनु उपयुक्त छैन । यो साँझको वेग शितल हावा नभएर निर्ममतामयी हत्या गरिएका मानवको रोइरहेको कनिष्ठ आत्मा हो” भन्दै त्रास देखाउथे । तर जीन्दगीभर गोलीलाई साथी र मृत्युलाई व्यापार बनाएको रमेशको कठोर हृदय स्थिर नै रह्यो ।

रमेशको जीवनमा समय लाटो बन्दै गयो । आफ्नो विगत याद गथ्र्यो , “अहो ! कस्तो रमझम समय । कति साहसका युद्घ । कति गोली । कति मृत्यु । कति अपराध । लडाइमा बोकी हिँड्ने कमान्डर कहाँ, आफू कहाँ ।” उसलाई कति रात अनिद्राले सताउँथ्यो । ओछ्यानबाट उठी चौतारोमा घुरिरहन्थयो । बर्खाको गर्मीमा नजिकै हाँडी दहमा चुर्लुम्म डुबेर शीतल लिन्थ्यो । “अहो कति कठोर छ यो मस्र्याङ्गदी ! कति रगतका भेलहरु बगायो । कतिका गोली लागेका शरीर निल्यो ।” रमेशलाई विगत झलझली याद हुन्छ । सागरजस्ता कयौँ युवाको हत्या गरी गाडेको त्यही मूकदर्शक हाँडी दहको भेल आज भने कुर्लिदै छ । पश्चताप र एक्लोपनले रमेशको जीवनमा छट्पटी बढ्दै जान्छ । 

एक निष्पट्ट औँसीको रात, रात छिप्पी सकेको छ । हुटिट्याङको हुल रोइरहेको छ । सधैँझै मस्र्याङ्गदी नदी नरमाइलो गाइरहेको छ । अचानक एक युवती रमेशको पिढीमा गएर बस्छे र रमेश भनेर बोलाउछे । रमेश एक्लै भएको र सुन्दरताले भरिभराऊ युवती घरमा आएको देखेर हर्षले उन्मक्त हुन्छ । उमेर छिप्पिदै गए पनि रमेशमा यौवनको तिर्खा भने सजीव नै छ । आफूलाई पारु भनी चिनाई युवतीले उसको पनि संसारमा कोही नभएको बताउछे । घण्टौ सम्मको कुरा पछि रमेश युवतीको माया जालबाट उम्किन सक्दैन । आज रमेशको पाषाण जस्तो हृदय पनि पग्लिन पुग्छ मानौ पारुको रुपमा जादुनै छ । यसरी नै रात छिप्पे पछि आउने, लामो गफमा भुलाउने अनि फर्कने भैरह्यो । रमेश हरेक मध्यरात पारु आउने पर्खाइमा बसिरहन्छ । मीठामीठा कुरा गर्छ । पारुले सागरकोे हत्याबारे जीज्ञासा सहित सोधपुछ गर्छे । विगतका आफ्ना अपराधहरु खुलेर कुरा गर्छ । रमेशले सागरलाई चन्दा दिन नमानेकोले आफ्नै समूहका साथीहरुले मारेर हाडी दहमा गाडिदिएको समेत बताउँछ । रमेश पारुलाई सधैँ आफूसँगै बस्ने अनुरोध गरिरहन्छ । यति राती डर लाग्दैन भनेर सोध्ने गर्छ । “यो संसारमा कसैको पनि डर लाग्दैन” भन्दै पारु हाँडी दहतर्फ फर्किने गर्छे ।

रमेशलाई अन्धकार जीवन पारुको आगमनसँगै सप्तरङ्गी बनेको भान हुन्छ । ऊ आफ्नो शरीरमा देखा परेको कमजोरीको पत्तो पाउँदैन । ऊ बिस्तारै दुब्लाउदै जान थाल्छ । उसको मनोवल दिनानुदिन कमजोर बन्दै जान्छ । “तर्साउने ठाउँ”  भन्दै बटुवाहरुमा हाँडी रहको बाटो आवत जावत कम हुदै गएको छ । एक रात, पारुले घर जान डर लागेको निहु पारी रमेशलाई आफुसँगै हाडी दहतर्फ लिएर जान्छे । रमेश धमिलो गङ्गालाई निश्चल देख्छ । हुटिट्याङ्खको चिच्चाहटमा सुरिलो सङ्गीत भेट्छ । जुनेली गङ्गाको धमिलो प्रतिबिम्बमा रमेशको छायाँ पारुलाई पच्छाउदै अघि बढिरहन्छ ।

रमेशको नजर पारुको छङ्ग छङ्ग सुनको पाउजुमा पर्छ । अगाडि हिडिरहेकी पारुको पैताला आफूतर्फ फर्किएको देख्दा ऊ अचानक झसङ्ग हुन्छ ।

एक जना हुलाके, आज पुषको सबेरै बिहान, शरीर कपाउँदै रफ्तारमा छ । हाँडी दहको किनारमा लडेको मान्छे देखा पर्दा हस्याङ्गफस्याङ्ग गर्दै नाडी छाम्छ । दाहसंस्कार नगरी फालिएको मृत शरीरलाई पवित्र मर्स्यङ्दी गङ्गामा बगाई आफ्नो कर्तव्य पुरा गर्छ । आज बल्ल सरुको भड्किएको आत्माले शान्ति पाएको छ । द्धन्द कालमा कयौ निर्दोश आत्मा निलेदेखि कुर्लिएको दहको भेल आज रमेशलाई निल्दा भने शान्त देखिन्छ । उजाड वनमाराको बस्तीमा उदास चकोर फूल आज हाँस्हिेछ । शिशिरको टीठलाग्दो प्रकृतिमा समेत आज कोइली गाउँदै छ–एक न्यायको गीत जुन हरेक मानिसको कर्ममा विधाताले कोरिदिएको छ ।

 

 

 

 

Kichkandi
Comments [0]

You need to login to comment or reply.

Post Comment

You need to login to comment.