प्राचीन नेपालमा औषधीको उपलब्धता कठिन थियो । तत्कालीन समयमा आयुर्वेद वा पश्चिमी उपचार पद्धतिको बारेमा धेरै नेपालीलाई ज्ञान थिएन । रिपोर्ट (History of Pharmaceutical Development in Nepal, Dharma Prasad Khanal) अनुसार प्रताप मल्लको बेलामा स्थापित एक आयुर्वेदिक औषधीको उत्पादन ईकाइ हनुमान ढोका दरबारमा सञ्चालन गरिएको भएता पनि राजा त्रिभुवनले प्रथम पटक त्यसबाट उत्पादित औपधीको पहुँच जनतासम्म पुगाएका थिए । त्यस पूर्व सो औषधीको पहुच शाही परिवारहरुसँग मात्र रहने गरेको थियो । यस बिचमा नेपालमा अन्य आयुर्वेद र एलोपेथिक औपधिको विकास भएको थियो । तैपनि रोग लागेको खण्डमा उपचारका निम्ति आम जनताहरुले वैकल्पिक उपचार पद्धति अपनाएको बढि पाइन्थ्यो । उनीहरु आफ्नै गाउँघर वा छिमेकमा बस्ने चिकित्सकहरु कहाँ जान रुचि राख्दथे । यो कार्य पुर्खाहरुबाट हस्तान्तरण हुँदै सन्तानहरुले पनि अपनाउने गरेका छन् । त्यस समयमा यस पद्धतिले पनि रोग निको गरेको विश्वास रहेकाले आज पनि यसलाई समाजमा बस्ने कतिपय व्यक्तिहरुले विश्वास गर्ने गर्दछन् । आजको यस लेखमार्फत हाम्रा लेखकहरुले तपाईँलाई नेपालमा प्रचलित विभिन्न परम्परागत चिकित्सक र तिका चिकित्सा प्रणालीका बारेमा परिचय दिनेछन् ।
ज्योतिष र माता
गाउँठाउमा शिक्षा वा अस्पतालको अभावले झारफूक कामचलाउ अन्धविश्वास रहेको तर्कमाथि हिजो आज शिक्षित शहरहरुमा प्रचलित ज्योतिष शास्त्र वा माताद्धारा गरिने आध्यात्मिक उपचारको लोकप्रियताले रोचक प्रश्न खडा गरेको छ। आज काठमाडौ, पोखरा लगाएतका सहरहरुमा पनि मानिसहरुको परम्परागत विधिप्रति लगाव बढ्दो छ। यतिसम्म की, केही वैज्ञानिकदेखि डाक्टरहरु समेत माताको आर्शिवादले उपचार हुने विश्वास राखी सहरका गल्ली गल्लीमा धाउने विषयले यस आध्यात्मिक उपचार विधितर्फ थप अनुसन्धानका लागि ध्यानाकार्षण गरेको छ। विभिन्न देवी देवताका लागि फरक फरक विधि अपनाउने, आयूर्वेदिक औषधिको प्रयोग गर्ने, सकरात्मक सोच र मनोवल विकासमा जोड दिने, योग वा मालिसलाई संलग्न गर्ने यस उपचार पद्धति व्यवस्थित ढङ्गले नै चलिआएको देखिन्छ। पदानुक्रम अनुसार ज्योतिषलाई उच्च श्रेणीमा र स्थानीय झारफुक गर्नेहरुलाई तल्लो श्रेणीमा राखिन्छ।
काठमाडौ र भत्तपुरका गल्लीहरुमा माताद्धारा गरिने उपचार पद्धति बाहिरी दुनियाँलाई अनौठौ सुनिए पनि स्थानीय बासीन्दाका लागि भने सामान्य देखिन्छ। माता एक प्रबुद्ध नारी हुन्। उनमा मानव शरीरको उर्जा र कम्पन नियन्त्रण गर्न सक्ने दैवी शत्ति भएको विश्वास गरिन्छ। नाडीको कम्पनका आधमरमा (आधारमा) उनी जस्तोसुकै बिरामीको पनि उपचार गर्न सक्ने दावी गर्छिन्। यसको कुनै वैज्ञानिक प्रमाणीकरण नभएता पनि बिरामीहरु रोग हल्का भएको बताउछन् र पटक पटक माताको दर्शन गर्न धाइरहन्छन्। यो सन्तुष्टि मनोवैज्ञानिक कारणले हो या वास्तविक नै हो भन्ने प्रश्न रहस्यमय छ। विज्ञानद्धारा अझै अनुत्तरित नै छ।
गाउँठाउँमा मात्र सिमित नभई विश्ववागमा जरो फैलाउन सफल अर्को आध्यात्मिक पद्धति हो – ज्योतिष शास्त्र। सनातन धर्ममा आधारित यस विधिले मानिसमा सबै रोगहरु लघु, वायु, ग्रह र भूतप्रेतका कारण भएको र रोग आइपर्नुपूूर्व नै भविष्यवाणी गरी ग्रहहरुका लागि पूजा विधि अपनाएमा जुनसुकै रोगबाट पनि बच्न सकिने सिद्धान्तमा विश्वास गर्छ। वैज्ञानिक रुपमा प्रमाणित योग, ध्यान वा ग्रह चक्रको समयविन्धुलाई आधार बनाएकाले ज्योतिष शास्त्रलाई आध्यात्मिक मध्ये सबैभन्दा विश्वासनीय विधिका रुपमा लिइन्छ। काठमाडौका स्वयम्भू र पशुपतिनाथ जस्ता पवित्र तीर्थस्थलमा गा्रहक र ज्योतिषको भीड लाग्ने गर्छ। हातको रेखाले मानिसको जीवन निर्धारण गर्ने विश्वास बोकेको यस विधि आज खगोल विज्ञानको आडले झनै फस्टाउदो देखिन्छ।
धामी झाँक्री
द ग्रेटर नेपालका बेला (१७९१ १८१६) नेपालमा प्रचालित उपचारकर्ताहरु मध्ये आधाभन्दा बढी धामी झाँक्रीहरु हुने गर्थे। उनीहरु परम्परागत चिकित्साको प्रयोग गर्ने शमन धर्मका व्यक्ति हुन्। शमन धर्मलाई विश्वकै पूरानो धर्म मानिन्छ। यसबाट हिन्दु र बौद्ध धर्मले प्रेरणा लिएको भन्ने विश्वास छ। नेपालमा लिम्बु, राइ, सुनवार, शेर्पा, तामागं, गुरुगं आदि जातका व्यक्तिहरुले धामी झाँक्री अभ्यास गर्छन्। भिन्नै देखिने यी चिकित्सकहरुले टाउकोमा मयूरको प्वाँखले बनाइएको वस्तु लगाउँछन् र हातमा ढ्यांग्रो बोक्छन्। आफ्नो कम्मरमा बेल्ट, घाँटी र काँधमा रुद्राक्षको माला र रिठोका बीज लगाउछन्। उनीहरुले कपडाको रुपमा जामा लगाउने गर्छन्।
एक व्यक्तिले यस संसार छोडेर जाँदा, केवल उसको भौतिक अस्तित्व विलय हुन्छ। कदापि उसको आत्मीक अस्तित्व अझैँ रहन्छ। उसको आत्माले पृथ्वी छोड्दैन भन्ने मानिन्छ। यसैगरी नेपाली समाजमा आफ्ना बुबाआमा र बाजेबज्यैलाई कुल देवताका रुपमा पुजिने गरिन्छ। मृत्युपश्चात उहाँहरुको आत्माको शान्तिका लागि पितृकर्म गर्नुपर्छ। उहाँहरुलाई खुसी राख्न सकेमा उहाँहरुले आफ्नो सन्तानको सुरक्षा गर्नुहुन्छ। यति भन्दैमा सबै आत्मा सभ्य नरहन सक्छन्। कतिपय महिलाका आत्मा, जसलाई बोक्सी भनिन्छ, ती आत्माहरु सामान्य व्यक्तिको शरीरमा पसेर त्यसको नियन्त्रण लिने गर्छन्। बिस्तारै प्रभावित शरीरलाई रोगी गर्दै जान्छन् अनि मृत्यु नै त्यसको अन्त्य हुन पुग्छ। यसो हुँदा के प्रभावित व्यक्ति निको नै नहुन सक्ने हो र? होइन, ती व्यक्तिहरुलाई धामी झाँक्रीले निको गर्ने क्षमता राख्छन् भन्ने मानिन्छ। धामी झाँक्री मनिसका शरीरलाई त्यस्तै आत्माको प्रभावबाट मुक्त गर्ने परम्परागत चिकित्सकहरु हुन्। उनीहरुले आत्मासँग कुरा गर्न सक्छन् भन्ने विश्वास छ। यसरी मानिस र आत्माको बिच संचारको माध्यम भएर व्यक्तिलाई निको पार्ने गर्छन्। उनीहरुले उपचारको क्रममा मन्त्र जप्ने, ढ्याग्रों बजाउने, जडीबुटी प्रयोग गर्ने, पशु बलिदान गर्ने वा यिनका संयोजन गर्ने गर्दछन् । उनीहरुले अरु रोगका पनि उपचार गर्ने गर्दछन्ः जस्तै टोको दुखाई, मासंपेसीको दुखाई, इत्यादि।
आज पनि गाउँघरका मानिसहरुले समस्या पर्दा उनीहरुलाई नै भेट्न मन पराउँछन्। यो प्रवृत्ति शहरमा पनि देख्न सकिन्छ। एक रिपोर्टका (Hypnotizability and the use of traditional dhami-jhankri healing in Nepal, Amita Biswas et. al._) आधारमा यी व्यक्तिहरुले सम्मोहन कलाको प्रयोग गरेर उपचार गर्ने कुरा अघि सारेको छ। त्यसैले दैव, देवता, आत्मा जस्ता विषयमा आस्था राख्ने व्यक्तिहरु धामी झाँक्रीहाँ गएमा बढी निको हुने पाइएको हुन्छ। यस पद्धतिको पछाडि अवस्य पनि रहस्य लुकेको छ। त्यसैले त जो कोहि पनि धामी झाँक्री बन्न सक्दैन।
हाम्रा जीवनका केहि किस्साहरु
मेरो परिवार शिक्षित छ अनि हामी शहरमा बस्छौँ। मेरी ९३ वर्षकी हजुरआमा हुनुहुन्थ्यो। करिब पाँचसात महिनादेखि उहाँले असहज महसुस गरिरहनुभएको थियो। “ऊ, त्यो आयो अब । मलाई लैजान्छ।” नै उहाँका शब्दहरु रहन्थे। उहाँलाई के रोग लागेको थियो भन्ने कसैले बुझ्न सकेको थिएन। डाक्टर कहाँ नि लगेका थियौँ। अझ सि.टी स्क्यान नि गरेको। यस उपचार पद्धतिले कुनै हल निकाल्न सकेन। उहाँको अवस्था जस को तस रह्यो। हजुरआमाको बिग्रिदो अवस्था र उपचारको कुनै नतिजा नदेखेर मेरा बुबा निकै चिन्तित हुनुभयो। अनि एक पल्ट धामी झाँक्रीलाई देखाउने निधो भयो। उहाँ आउनुभयो। अनि एउटा बन्द कोठामा गएर झारफुक गर्न थाल्नुभयो। हजुरआमाको शरीरमा पसेको आत्मालाई बाहिर आएर आफ्नो सामना गर्न उहाँले चुनौती दिनुभएको थियो। उहाँको बोली नै कस्तो डरलाग्दो थियो। हाउभाउ त झनै। म त डराएर त्यस कक्षबाट भागेँ। यस उपचारले पनि हजुरआमाको स्वास्थमा कुनै सुधार त ल्याउन सकेन। कदापी यसो गरेर हेरेको भए केहि हुनसक्थ्यो कि भन्ने निराशा रहेन। तसर्थ, समाजमा रहेका यी चिकित्सकहरु कसैको पहिलो उपचारकर्मी हुनुहोला भने कसैको अन्तिम। कदापी जीवनमा एकपल्ट भएपनि हामीहरुले उहाँहरुलाई धाउने दिन अवश्य आउने छ।
के तपाईँले यस उपचार पद्धति अपनाउनु ठिक होला त?
डाक्टर रिसभ कोइरालाले सुसान्त प्रधानको पोडकास्टमा भनेका छन्, “विश्वासले अवश्य पनि (रोग) निको पार्छ।” यस्ता उपचारले वैज्ञानिक रुपमा रोगीको उपचार गर्न सक्ने वा नगर्न सक्ने कुराको कुनै ठोस प्रमाण त छैन। यद्धपि यस्तो विधीमा विश्वास राख्ने व्यक्तिहरु यसबाट अवश्य पनि लाभान्वित् हुन्छन्। उनीहरुको स्वास्थमा सुधार आउने गर्छ। हामीहरुले सानामा सुनेको कथा छः एक व्यक्तिलाई उसको घरदेखि कार्यालयको बाटोमा भेटिने सम्पूर्ण मान्छेले उसलाई जोरो आएको कुरा बताउँदा ऊ साँच्चै नै बिरामी पर्छ। यसले हाम्रो मनोविज्ञानमा आफु वरिपरिका मानिसको वचन र व्यवहारको असर झल्काउँछ। कुनै पनि रोगसँग लड्नका लागि मनोबल चाहिन्छ। मनोबल र विश्वास बिना कुनै पनि उपचार पद्धतिले उत्कृष्ट नतिजा प्रदान गर्न सक्दैन। यसकारण, तपाईँलाई पारम्पारिक चिकित्सक र चिकित्सामा विश्वास छ भने यसले तपाईँलाई फाइदा गर्नेछ।
अन्ततः नेपालमा प्राचीन कालदेखि चलिआएका यी आध्यात्मिक विधिहरुको सनातन धर्मसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ। हिजो आज विज्ञानले यी विधिहरुमाथि आधारहीन र अन्धविश्वासको लाञ्छना लगाएको खण्डमा आधुनिक प्रमाणित विधिहरुबारे जनचेतना फैल्याउन आवश्यक देखिन्छ। यद्धपी, यी विधिहरुको मनोवैज्ञानिक र आध्यात्मिक महत्वबारे बुझ्न जरुरी छ। विश्वमा योग, आयूर्वेद, खगोल विज्ञान आदिका जन्मदाता यी परम्परागत पद्धतिबारे थप गहन अनुसन्धानको आवश्यकता छ। परम्परागत विधिको आध्यात्मिक र धार्मिक महत्वको अध्यययनm र संवर्धन गर्दैै समयअनुसार विज्ञानद्धारा प्रमाणित आधुनिक उपचार विधिलाई अँगाल्नु नै बुद्धिमानी ठहरिन्छ।
References:
History of Pharmaceutical Development in Nepal, Dharma Prasad Khanal
Hypnotizability and the use of traditional dhami-jhankri healing in Nepal, A.Biswas; D See; M M Kogan; D Spiegel
This post was contributed by Atith Adhikari and Madhav Khanal.
Comments [0]
You need to login to comment or reply.